सत्ताको नेतृत्व सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद विस्तारै गहिरिँदै गएको छ। पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह र अर्थमन्त्रीसमेत रहेका उपसभापति स्वर्णिम वाग्लेबीचको सम्बन्ध, सरकार सञ्चालनको शैली तथा पार्टी र सरकारबीचको समन्वयलाई लिएर उत्पन्न असन्तुष्टिले रास्वपाभित्र शक्ति संघर्षको संकेत देखिन थालेको छ।

बाहिरबाट हेर्दा एउटै राजनीतिक शक्तिको नेतृत्वमा सरकार सञ्चालन भइरहेको देखिए पनि पार्टी र सरकारबीचको सम्बन्ध सहज नरहेको नेताहरूको अनौपचारिक अभिव्यक्तिले संकेत गर्छ। प्रधानमन्त्री शाह आफ्नै गतिमा सरकार सञ्चालन गरिरहेको, पार्टीलाई सरकारी कामकारबाहीबारे पर्याप्त जानकारी नदिएको र पार्टी नेतृत्वले सरकारमाथि प्रभावकारी समन्वय कायम गर्न नसकेको विषयले आन्तरिक असन्तुष्टि बढाएको छ। अर्कोतर्फ, प्रधानमन्त्री शाहले पार्टीकै नेता तथा कार्यकर्ताबाट सरकारका काममा अवरोध सिर्जना भइरहेको गुनासो गर्ने गरेको बताइन्छ।