काठमाडौं । अटो बजारमा लामो समयदेखि प्रतीक्षा गरिएको सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई भिटारा’को बुकिङ आधिकारिक रूपमा खुला भएको छ । पोखरामा जारी ‘वाडा अटो शो २०२६’ को अवसर पारेर आधिकारिक वितरक सिजी मोटोकर्पले यसको प्रारम्भिक मूल्य मात्र ४९ लाख ९९ हजार रुपैयाँ सार्वजनिक गरेको हो।

जापानी प्रविधि र विश्वसनीयता बोकेको यस ईभीले कम बजेट भएका ग्राहकलाई प्रिमियम इलेक्ट्रिक अनुभव दिने लक्ष्य राखेको छ। कम्पनीले हाललाई सुरुवाती भेरियन्टको मूल्य सार्वजनिक गरे पनि अन्य भेरियन्टबारे भने विस्तृत जानकारी दिएको छैन। प्रिमियम फिचर र सुजुकीको बलियो नेटवर्कका कारण यो मूल्य निकै प्रतिस्पर्धी मानिएको छ।

यो एसयूभी मुख्यगरी दुईवटा ब्याट्री क्षमतामा उपलब्ध हुनेछ। जसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरका ब्याट्री प्याकहरू रहनेछन्।शक्तिशाली पर्फर्मेन्स खोज्नेहरूका लागि कम्पनीले यसमा १०६ किलोवाट र १२८ किलोवाट क्षमताका दुईवटा मोटर विकल्प दिएको छ। यसको बाहिरी बनावटमा अगाडि र पछाडि आकर्षक ‘ट्राइस्ल्यास’ डिजाइनको एलईडी डीआरएल र फ्रन्टमा चार्जिङ पोर्ट राखिएको छ। ठूलो टायर र सन्तुलित उचाइका कारण यो नेपाली सडकका लागि उपयुक्त हुने देखिन्छ।

वायरलेस फोन चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र प्रिमियम साउन्ड सिस्टम जस्ता सुविधाले भरिएको ई-भिटाराको इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रिन, टु-स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील र प्यानारोमिक सनरुफ जस्ता आधुनिक सुविधाहरू छन् । सुरक्षाका लागि यसमा एडास सिस्टम, ३६० डिग्री क्यामरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक र अटो होल्ड फिचर समावेश गरिएको छ। साथै, अफ-रोड र कठिन सडकका लागि हिल डिसेन्ट कन्ट्रोल र हिटेड ओआरभीएम जस्ता उपयोगी फिचर पनि यसमा उपलब्ध छन्।

यो गाडी २७०० एमएमको लामो ह्वीलबेसमा निर्माण गरिएको छ, जसले गर्दा भित्री भाग निकै फराकिलो छ। ४२७५ एमएम लम्बाइ, १८०० एमएम चौडाइ र १६३५ एमएम उचाइ रहेको यो ईभीले नेपाली सडकमा सन्तुलित र सुरक्षित यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ।