कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा बिहीबार (चैत १२) रवीन्द्र चन्द नियुक्त भए । दैलेखको चौराठामा जन्मिएका चन्द हाल सुर्खेतको वीरेन्द्रनगर–७ का स्थायी बासिन्दा हुन् ।

उनले शंकरदेव क्याम्पसबाट व्यवसाय प्रशासनमा स्नातक बीबीए र डन बास्को कलेजबाट मार्केटिङ तथा ब्रान्डिङ विषयमा स्नातकोत्तर एमबीए सम्पन्न गरेका छन् । खेलकुदको प्राविधिक पक्षमा पनि विशेष दख्खल राख्ने चन्दले एसियन फुटबल महासंघबाट एएफसी ‘बी’ र ‘सी’ लाइसेन्स कोचिङ कोर्स पूरा गरेका छन् । साथै, खेलकुद व्यवस्थापनसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालाहरूमा सक्रिय सहभागिता जनाएका छन् ।

हाल अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमिति सदस्यका रूपमा कार्यरत चन्दले संघभित्र प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन् । उनले एन्फाको ‘कमर्सियल राइट्स, ब्रोडकास्टिङ तथा डिजिटल राइट्स समिति’को संयोजक र ‘दीर्घकालीन रणनीतिक योजना तथा कार्यक्रम संशोधन समिति’को सदस्यका रूपमा आफ्नो व्यावसायिक कुशलता प्रदर्शन गरिसकेका छन् ।

उनको अब्बल नेतृत्व क्षमता कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२३ मा मार्केटिङ समितिको संयोजक र सन् २०२२ को साफ महिला च्याम्पियनसिपमा भेन्यु म्यानेजरको रूपमा सफल प्रमाणित भइसकेको छ । यसबाहेक, उनले महिला ओलम्पिक छनोट, साफ यू–२० च्याम्पियनसिप, एएफसी च्यालेन्ज लिग र फिफा विश्वकप छनोट जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्थानीय आयोजक समितिको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।

उनका उपलब्धिचन्द आरसी ३२ फुटबल एकेडेमी (रारा रेन्जर्स)का संस्थापक अध्यक्ष हुन् । यो क्लब कर्णाली प्रदेश र समग्र पश्चिम नेपालकै पहिलो क्लब हो, जसले एन्फाको राष्ट्रिय फुटबल पिरामिड अन्तर्गत ‘बी’ डिभिजनको यात्रा तय गरेर ऐतिहासिक सफलता हासिल गरेको छ । सन् २०१५ देखि उनी विभिन्न खेलकुद इभेन्टहरूमा परामर्शदाताका रूपमा समेत सक्रिय रहँदै आएका छन् ।

खेलाडी र प्रशिक्षक जीवनप्रशासकीय भूमिकामा आउनुअघि चन्द एक सफल खेलाडी थिए । उनले क्रिकेटमा यू–१५, यू–१९ र सिनियर टोलीबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व गरिसकेका छन् । छैटौँ राष्ट्रिय खेलकुदमा फुटबल खेलाडीका रूपमा सहभागी थिए । प्रशिक्षकको रूपमा उनले शंकरदेव क्याम्पसको फुटबल र क्रिकेट टोलीलाई प्रशिक्षण दिई उत्कृष्ट नतिजा दिलाउन सफल भएका थिए ।

नेपाली, अंग्रेजी र हिन्दी भाषामा विशेष पकड राख्ने उनी आफ्नो कार्यकुशलता, स्पष्ट भिजन र समर्पणका कारण नेपाली खेलकुदलाई थप व्यावसायिक र उचाइमा पुर्‍याउन निरन्तर क्रियाशील छन् ।