मुस्ताङ । माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार (चैत २१) रातिदेखि उक्त क्षेत्रमा हिमपात भइरहेको जनाइएको छ ।
माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, स्याङबोचेदेखि कोरला नाकासम्मको क्षेत्रमा हिमपातले पूरै डाँडाकाँडा सेताम्मे देखिएको छ । माथिल्लो मुस्ताङका बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ परेको उनले उल्लेख गरे ।
स्याङबोचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिंगर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा, घारा, ढी र सुर्खाङलगायत स्थानमा छैटौँपटक ‘भारी’ हिमपात भएको हो । हिमपातका कारण स्थानीय जनजीवन प्रभावित बनेको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए ।
“शनिबार रातिदेखि परेको हिमपात अझै रोकिएको छैन । हिउँ पर्ने क्रम निरन्तर छ । अझै पनि हिउँ पर्ने क्रम साँझसम्म रहेमा दुई फिट बढी हिउँ जम्ने अवस्था छ,” उनले भने ।
यस वर्ष छैटौँपटकको हिमपातका कारण माथिल्लो मुस्ताङमा उच्च लेकका चरन क्षेत्र हिउँले ढाकिएर सेताम्मे बनेको छ । स्थानीय नागरिक तथा पशुपालन गर्ने किसानलाई हिउँले सास्ती भएको छ ।
माथिल्लो मुस्ताङमा बर्सेनि एक बाली खेती हुन्छ । त्यहाँका नागरिक हिउँदयामको जाडो छलेर गाउँ फर्किएपछि बर्खेबाली लगाउने प्रचलन छ । बर्खेखेती सुरु हुने बेला हिमपात भएकाले किसानलाई फाइदा पुग्ने जनाइएको छ ।
वारागुङ मुक्तिनाथ क्षेत्रमा पनि शनिबार राति हिमपात भएको छ । वारागुङ मुक्तिक्षेत्र–१ स्थित खिंगा, झारकोट, पुडाक, छेंगुर र मुक्तिनाथलगायत स्थानमा ‘भारी’ हिमपात भएको स्थानीय कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । मुक्तिनाथ दर्शनार्थीलाई हिमपातका कारण आंशिक रूपमा केही अप्ठ्यारो भएको छ । हिमपातको सौन्दर्यले भने पर्यटकमा उत्साह थपिएको उनको भनाइ छ ।
मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रमा भने वर्षा भएको छ । घरपझोङका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार, स्याउको फूल फुल्ने बेलामा वर्षा भएकाले स्याउखेतीमा असर पुगेको छ । “स्याउ बोटमा फूल फुल्न थालिसकेको छ, स्याउका फूलमा परागसेचन हुने समय पनि हो,” अधिकृत थकालीले भने, “यस्तो बेलामा हिमपात र वर्षा हुनु किसानका लागि राम्रो होइन ।”








