काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य नभको बताएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रीना उप्रेती केसीले होल्डिङ सेन्टरको नाजुक अवस्था र आफ्नो अधिकारका लागि आवाज उठाउनेहरूमाथि प्रहरी प्रशासन परिचालन गरी बल प्रयोग र कुटपिट गरिएको घटनाप्रति आपत्ति जनाइन् ।

राज्यका कमी–कमजोरी देखाउने सञ्चारकर्मी, सञ्चार गृह र राजनीतिक दलहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको उनको आरोप छ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरूको व्यवस्थापनप्रति पनि उनले गम्भीर आपत्ति जनाइन्। सुकुम्वासीहरूलाई सुरक्षित र सम्मानजनक आवास दिनुको साटो भैँसी बस्ने जस्तो डुबान क्षेत्रमा राखिएको र त्यहाँ ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरू कष्टकर जीवन बिताउन बाध्य भएको उनले बताइन्।

‘राज्य शक्तिको दुरुपयोग गरेर प्रेस स्वतन्त्रता र नागरिक अधिकार कुण्ठित गर्न पाइँदैन। मिडियालाई चाहे विज्ञापन नीतिमार्फत होस् वा सडकमा गाडी तेर्स्याएर भयभीत बनाउने शैलीमा, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब सिर्जना गर्ने कार्य बन्द गरिनुपर्छ,’ सांसद उप्रेतीले भनिन् ।

सांसद उप्रेतीले सञ्चार गृह र नेताको निवास अगाडि भएका शङ्कास्पद गतिविधिहरूको तत्काल निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र नागरिक तथा सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरिन् ।

सांसद उप्रेतीले हालै काठमाडौँमा राइडसेयरिङ चालक गणेश नेपालीले गरेको आत्मदाहको घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई राज्यको कठोर र अव्यवहारिक नीति तथा संवेदनहीन व्यवहारको परिणाम भएको टिप्पणी गरिन्।

‘कानुन कार्यान्वयनको नाममा नागरिकको अपमान गर्ने वा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने कार्य स्वीकार्य हुन सक्दैन,’ उनले भनिन्।