रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रमा पुगेका गोरखाका ५८ जना नागरिक सम्पर्कविहीन भएका छन् । रोजगारीका क्रममा तथा तीर्थयात्राका लागि विभिन्न ठाउँमा पुगेका गोरखाका स्थानीय बाढीपछि परिवार र स्थानीय तहको सम्पर्कमा आउन सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पालुङटार नगरपालिकाका ३१ जना, सहिद लखन गाउँपालिकाका सात जना, धार्चे गाउँपालिकाका चार जना, भीमसेन थापा गाउँपालिकाका तीन जनासँग सम्पर्कविहीन भएका छन् । त्यसै गरी बारपाक सुलीकोट गाउँपालिकाका छ जना, सिरानचोक गाउँपालिकाका दुई जना, आरुघाट गाउँपालिकाका तीन जना, गोरखा नगरपालिकाका एक जना र गण्डकी गाउँपालिकाका एक जना सम्पर्कविहीन भएका छन् ।

पालुङटार नगरपालिकाका बासिन्दा तीर्थयात्रामा जाने क्रममा बाढीमा परेका हुन् भने ठाँटीपोखरीबाट रसुवाको गोसाइँकुण्ड यात्राका लागि गएको टोली सवार बस भोटेकोशीको बाढीमा पर्दा मानिस बेपत्ता भएका छन् । बसमा रहेका ३७ जनामध्ये छ जनाले झ्यालबाट हाम फालेर ज्यान जोगाएको र बाँकी यात्रुको अवस्था लामो बिहीबारसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।