बाढी जाँदा प्रायः खाने पानीका मुहान पनि हराउने गर्छ । तराईमा इनारहरू पुरिन्छन् भने पहाडमा मूलहरू पुरिएर हराउने गर्छन् । भोटेकोसी बाढीले पहाडका सम्म मैदानमा बसेका थुप्रै बस्तीहरू बगाउने र पुर्ने गरेकाले खानेपानीको धारा र मूलहरू पनि त्यसको चपेटामा परेका छन् ।

सामान्य अवस्थामा मात्र होइन विपत्तिका बेलामा पनि सास फेर्ने हावा र स्वच्छ खानेपानी मानव जीवनका लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ । तर सामान्यतः सित्तैमा पाइने हुनाले पानी र हावाको उपलब्धतालाई खासै महत्त्व र ध्यान दिइएको देखिँदैन । विपत्तिमा समयमा उद्धार र सहायता कार्यमा भने पीडितलाई स्वच्छ खानेपानी सहजरूपमा उपलब्ध गराउन ध्यान दिनु आवश्यक हुन्छ ।