इजिप्टले चीनसँग व्यापार, लगानी, औद्योगिक स्थानीयकरण तथा स्वच्छ ऊर्जालगायतका क्षेत्रमा व्यावहारिक सहकार्य थप विस्तार गर्न आफू तयार रहेको जनाएको छ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलातीले इजिप्टको नयाँ प्रशासनिक राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चीनसँगको सहकार्यलाई थप मजबुत बनाउने विषयमा जानकारी दिनुभएको हो । उहाँकाअनुसार इजिप्टले चीन–इजिप्ट टेडा स्वेज आर्थिक तथा व्यापार सहकार्य क्षेत्रको आगामी चरणलाई अघि बढाइरहेको छ । साथै, विशेषगरी नवीकरणीय तथा स्वच्छ ऊर्जाको क्षेत्रमा चीनसँगको सहकार्य थप सुदृढ गर्ने इजिप्टको योजना रहेको उहाँले बताउनु भयो । विदेशमन्त्री अब्देलातीले ब्रिक्स सहकार्यबारे बोल्दै विश्व अहिले विभिन्न कठिनाइ तथा संकटबाट गुज्रिरहेको अवस्थामा ब्रिक्सले सदस्य राष्ट्रहरूबीच आर्थिक तथा व्यापारिक सहकार्य विस्तार गर्न महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनु भयो ।
इजिप्टले ब्रिक्सको सदस्यतालाई उच्च महत्व दिएको उल्लेख गर्दै उहाँले अन्य सदस्य राष्ट्रहरूसँग अझ नजिकको सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताउनु भयो । अब्देलातीका अनुसार ब्रिक्सभित्र व्यापारको मात्रा बढाउने, स्थानीय मुद्रामा कारोबारलाई प्रोत्साहन गर्ने तथा सदस्य राष्ट्रहरूबीच आर्थिक सम्बन्ध बलियो बनाउने विषय महत्वपूर्ण छन् । उहाँले ब्रिक्सअन्तर्गत रहेको न्यू डेभलपमेन्ट बैंकले कुनै शर्त नथोपरी सहयोग गर्ने भएकाले यसको विशेष महत्व रहेको बताउनुभ यो । इजिप्टले चीनसँगको आर्थिक सम्बन्ध विस्तारसँगै ब्रिक्समार्फत अन्य सदस्य राष्ट्रहरूसँग पनि व्यापार तथा आर्थिक सहकार्यलाई थप गति दिने नीति अघि सारेको छ ।


