भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका दुर्गम हिमाली बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै भारत र चीनबीचको व्यापार, पर्यटन, जलविद्युत् र स्थानीय उत्पादनको बजार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कर्णाली करिडोरको दक्षिणी खण्ड नेपालगञ्ज, कोहलपुर र सुर्खेत हुँदै अघि बढ्छ । यसले उत्तरतर्फ कर्णालीका पहाडी तथा हिमाली क्षेत्र पार गर्दै हुम्लाको हिल्सा नाकासम्म पुग्ने मार्गलाई जोड्छ । हिल्साबाट चीनको ताक्लाकोट बजार करिब ३० किलोमिटर टाढा छ भने तिब्बतको सिगात्सेसम्मको दूरी करिब ७०० किलोमिटर रहेको कर्णाली करिडोरको अवधारणापत्रमा उल्लेख रहेको छ ।








