दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य विमानलाई हटाउन मङ्गलबार लडाकू विमान परिचालन गरेको जनाएको छ । रूसी विमानले कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा रहेको हवाई रक्षा क्षेत्रमा प्रवेश गरे पनि देशको क्षेत्रीय हवाई सीमा भने उल्लङ्घन नगरेको सेनाले स्पष्ट पारेको छ ।

उल्लेउङ टापुको हवाई क्षेत्र नजिक रूसी विमान उडेपछि सरकारले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो । तर, विमान जोखिम क्षेत्रबाट बाहिरिएपछि तीन मिनेटमै उक्त निर्देशन फिर्ता लिइएको थियो । घटनाबाट टापुमा कुनै ठूलो अवरोध नभएको अधिकारीहरूले बताएका छन् ।