नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहत प्रहरी चौकी बासा तथा अस्थायी प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं २ र रामग्राम नगरपालिका १४ बाट विभिन्न कसुरमा फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।
जिल्ला अदालत नवलपरासीको आदेशबाट कैद तथा जरिवाना फैसला भई फरार रहेका सरावल गाउँपालिका वटा नं २ का ४९ वर्षीय सरोजकुमार चौधरी, सोही ठाउँका ४१ वर्षीय सोमनारायण थारु, २७ वर्षीय मनोज यादव र सरावल गाउँपालिका वटा नं ७ का ३९ वर्षीय छत्रबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सवारी ज्यान र लागूऔषध मुद्दामा फरार रहेका निजहरुलाई कैद तथा सजाय भुक्तानका लागि जिल्ला अदालत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाइएको प्रहरी प्रवक्ता डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
यसैगरी प्रहरी चौकी वैरागनाथबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका १४ बाट असार १२ गतेको फैसलाबाट ज्यानसम्बन्धी कसुरमा कैद तथा फैसला भएका दुई प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका १४ का ४९ वर्षीय मोहनप्रसाद चौधरी र ४१ वर्षीय केशवप्रसाद चौधरी रहेका छन्
मोहनप्रसादको १० महिना २९ दिन कैद र १० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको र केशवप्रसादको ५ महिना २० दिन कैद तथा ५ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
मिस्कटसहित ट्रयाक्टर नियन्त्रणमा
नवलपरासीको सुनवल नगरपालिका वडा नं १३ बडेराबाट नदी उत्खनन गरी अवैधरूपमा ल्याएको मिस्कटसहित लु ३ त ६६९१ नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी बिट भूमहीबाट प्रहरी सहायक निरीक्षक इन्द्रजीत यादवको टोलीले ट्रयाक्टर नियन्त्रणमा लिई कारबाहीको लागि सुनवल नगरपालिका पठाइएको प्रहरीले जनाएको छ ।
।







