काठमाण्डाै,
भारतीय राज्य राजस्थानको हनुमानगढमा सोमबार बिहान भारतीय वायुसेनाको फाइटर विमान मिग–२१ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
फाइटर विमान बहलोल नगर क्षेत्रमा घरमाथि खसेको थियो। फाइटर विमान खस्दा घरभित्र रहेका ३ जना स्थानीयको मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। स्थानीय महिला ४५ वर्षीय बशौकौर, ६० वर्षीया बंतो र ५५ वर्षीया लिला देवीकाे मृत्यु भएको हो।
विमानका पाइलट २५ वर्षीय राहुल अरोडा भने प्यारासुटबाट हाम फालेर ज्यान जोगाउन सफल भए। विमान दुर्घटनाकाे संकेत पाएपछि पाइलटले प्यारासुटकाे मद्दतमा हाम फालेकाे प्रहरीले जनाएकाे छ। पाइलट अरोडालाई सुरतगढ पठाइएको छ।
दुर्घटनामा स्थानीय १८ वर्षीय सरोज, १९ वर्षीया विमला र ३२ वर्षीय वीरपाल घाइते भएका जनाइएको छ। मिग २१ क्र्यास हुँदा भएको धमाकाका कारण दुर्घटना क्षेत्रका अन्य ३/४ घरमा पनि क्षति पुगेको बताइएको छ।








