काठमाडाैं,

धादिङमा हत्या आराेपमा  ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गल्छी गाँउपालिका ८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरको हत्या भएको हो ।

हिजाे बुधबार बेलुका गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा रहेको सानदार होटलमा खाजा खान गएका विनाेदकाे हत्या भएकाे हाे। विनोदको हत्या आरोपमा होटल सञ्चालक २८ वर्षीय निरज पण्डित र पण्डितकी आमा सरस्वतीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

खाजा खाएको पैसा तिर्ने क्रममा विवाद भएपछि निरजले विनोदलाई छुरा हानेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) धर्मजित थिङले बताउनुभयो । छुरा प्रहारबाट घाइते भएका विनाेदलाइ राती नै उपचारका लागी काठमाडाैंकाे नर्भिक अस्पताल ल्याएका थिए तर अस्पताल ल्याउनासाथ विनाेदकाे मृत्यु भएकाे थियाे।

खाजा खाएको एक हजार एक सय रुपैयाँ तिर्न विनोदले एक हजार ५ सय रुपैयाँ दिएको तर चार सय रुपैयाँ फिर्ता नपाएपछि विवाद सुरु भएको (इन्सपेक्टर) धर्मजित थिङले बताउनुभयो।

साे घटना बारे अनुसन्धान भइरहेकाे प्रहरी जनाएकाे छ।