काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा पुगेर अनुगमन गर्ने भएको छ । आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने भएको छ । निर्वाचन अनुगमनका लागि सातवटै प्रदेश र मातहतका जिल्लामा आयोगबाट अनुगमन टोली खटिनेछन् ।
आयोग निर्वाचनपूर्वको अवस्था, निर्वाचन अवधि र निर्वाचनपश्चात् मतगणनासम्मको अनुगमन गर्ने योजनामा छ । केन्द्रमा ‘अनुगमन कन्ट्रोल रुम’ स्थापना गर्ने बिषयमा छलफल चलिरहेको छ । ज्येष्ठ नागरिक, किरियापुत्री, गर्भवती महिला, अपांगता एवं फरक क्षमता भएका व्यक्तिमा सहज पहुँच भए/नभएको, निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग, आचारसंहिताको पालनाजस्ता विषयको अनुगमन गरिने बताइएको छ ।
साथै, आयोगले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिको नामावली संकलन भए/नभएको विषयमा पनि अनुगमन गर्नेछ ।
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार आयोगले निर्वाचनका बेला खटिएका स्वदेशी एवम् विदेशी पर्यवेक्षकको पनि अनुगमन गर्नेछ ।
‘‘विदेशी पर्यवेक्षकले पनि स्वतन्त्रपूर्वक काम गरेका छन् कि छैनन् भनेर पनि आयोगबाट मोनिटरिङ हुन्छ । समग्रमा मानवअधिकारको संरक्षण र सम्वद्र्धनको दृष्टीकोणबाट चेकलिष्टको आधारमा अनुगमन हुन्छ,’’ सहप्रवक्ता काफ्लेले बाह्रखरीसँग भने, ‘‘स्रोत साधनले भ्याएसम्म भरसक सबै जिल्लामा जान्छौँ । स्रोतको विषयमा अर्थ मन्त्रालयसँग पनि कुरा भइरहेको छ । भरसक सबै जिल्ला कभर हुन्छ ।”








