राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ । राहदानी दुरुपयोगमा मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ताको निर्णयविरुद्ध २०७९ चैत २० गते दर्ता भएको रिटमा अन्तिम सुनुवाइका लागि सोमबार पेसी तोकिएको हो ।
युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेका थिए ।
तत्कालीन महान्यायाधिवक्ता पोखरेलको उक्त निर्णय कानूनविपरीत रहेको भन्दै सफलले रिट दायर गरेका थिए ।
यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ । २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो ।
तत्कालीन महान्यायाधिवक्ता पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए । पौडेलको रिटमा शुरूमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।








