काठमाडाैंको बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा भोलि (बिहीबार) सुरु हुने १४औँ साउथ वेस्टर्न विज्ञान प्रदर्शनी तथा व्यवस्थापन करिअर कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । कलेजले हरेक वर्ष आयोजना गर्ने कार्यक्रम भोलि उद्घाटन हुन लागेको हो ।

दुई दिनसम्म हुने कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा कलेज तथा विद्यालयस्तरका विद्यार्थीहरूको सहभागिता रहनेछ । विज्ञान तथा व्यवस्थापन क्षेत्रप्रति विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा अन्तरकलेज विज्ञान प्रदर्शनी तथा प्रतियोगिता, अन्तरविद्यालय विज्ञान प्रदर्शनी, युवा वैज्ञानिकद्वारा नवप्रवर्तनात्मक प्रस्तुति, व्यवस्थापकीय सीपसम्बन्धी परियोजना प्रस्तुति, मेज सोल्भिङ रोबोट प्रतियोगिता तथा सौर्य अवलोकन कार्यक्रम रहेका छन् ।

यसका साथै कार्यक्रममा निःशुल्क स्वास्थ्य सेवा अन्तर्गत मेडिकल चेकअप, आँखा तथा दन्त परीक्षण शिविर, रक्तदान कार्यक्रम, सांगीतिक प्रस्तुति तथा अवलोकनकर्ताद्वारा मतदान प्रणालीसमेत सञ्चालन गरिनेछ ।

कलेजका प्रमुख डा. राजेन्द्र केसीका अनुसार कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यवस्थापन सीप विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । कलेजले अभिभावक, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई अवलोकन गर्न आग्रह गरेको छ ।