प्रधानसेनापति अशोकराज सिग्देलले कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उनले निर्वाचन सुरक्षालाई त्रुटिरहित ढंगबाट सम्पन्न गर्न निर्देशन दिए ।

छलफलपछि प्रधानसेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिएको सुदूरपश्चिम पृतनाले जनाएको छ । सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीकोसमेत सहभागिता थियो ।

सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सेनाले कारागार र विमानस्थलका साथै धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिइसकेको छ । त्यसैगरी प्रदेशका नौ वटै जिल्लामा सेनाले गस्ती बढाउनुका साथै निर्वाचनका लागि सबै किसिमका तयारी गरेको जनाएको छ ।