काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ निर्वाचन गराई राजनीतिक सुशासन कायम गर्न सबैले जिम्मेवार भएर योगदान गर्नुपर्ने बताएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय ढङ्गले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको भन्दै जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न निर्देशन समेत दिए ।

साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न गराउन र कानुन उलङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री अर्यालको नेतृत्वमा गृह सचिव राजकुमार श्रेष्ठ, तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल,नेपालका प्रहरी महानिरीक्षकहरू सहितको टोलीले बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको लुम्बिनी प्रदेश प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, अनुगमन अधिकृतहरू लगायतको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जिल्लामा हाल सम्म भएका निर्वाचन सम्बन्धी गतिविधिहरू, एकीकृत निर्वाचन सुरक्षा योजना,सुरक्षाकर्मी परिचालन रणनीति, मतपेटिका ढुवानी योजना लगायतको विषयमा प्रस्तुतीकरण गरेका छन् ।

कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले सबै सुरक्षा निकायहरू आपसमा समन्वयात्मक ढङ्गले समूह भावनाका साथ परिचालित भई निर्वाचन सफल बनाउन निर्देशन दिए।

उक्त कार्यक्रम पश्चात् गृहमन्त्री अर्यालले बाँके स्थित केहि पत्रकारहरुसँगको संक्षिप्त भेटघाटका क्रममा पत्रकारहरूको सवाललाई सम्बोधन गर्दै निर्वाचनको माहोल राष्ट्रिय रूपमै उत्साहजनक हिसाबले बढिरहेको र बाँकेकाे हालसम्मको तयारीले समेत त्यसलाई पुष्टि गर्ने बताए।