काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश दुई ठूला अतिवादी खतरासँग लडिरहेको भन्दै यससँग जुध्न आफूहरू सक्षम रहेको बताएका छन् । उनले ‘हिजो क्रान्तिको गाथा लेख्योँ, अब समय आएको छ समृद्धिको अध्याय लेख्ने’ प्रण गरे ।
एक भिडिओ सन्देशमार्फत प्रचण्डले हिजो सत्ता र प्रतिपक्षका रूपमा आफूहरू रहँदालाई स्मरण गर्न आग्रह गरे । आफू सरकारमा हुँदा सुशासन सुरू गरेको, विधिको शासन स्थापित गर्ने प्रयास गरेको र ठूलठूला गिरोह र ठूला शक्ति सम्मिलित भ्रष्टाचारका काण्ड उजागर गरेको फेहरिस्त उनले सुनाए ।
‘त्यही सुशासनबाट डराएको माफियाले संसारमै कहीँ नभएको संसद्मा पहिलो र दोस्रो पार्टीलाई मिलायो’, प्रचण्डले भने ।
उनले थपे, ‘आज देश दुई ठूला अतिवादी खतरासँग लड्दैछ । एउटा अतिवाद जनताको आक्रोश र निराशालाई भड्काएर देशलाई अराजकतातिर धकेल्दैछ र राष्ट्रिय स्वाधीनतामै संकट ल्याउँदैछ । अर्को अतिवाद यथास्थितिवाद हो, जसले दलाल र बिचौलियाको स्वार्थ बाहेक केही सोच्नै सक्दैन । यी दुवै अतिवादसँग जुधेर देश जोगाउन सक्ने र समृद्धिको यात्रा गर्न सक्ने शक्ति वामपन्थी आन्दोलन नै हो ।’
वाम आन्दोलन समाप्त पार्न अहिले ठूलो डिजाइन र षड्यन्त्र भइरहेको उनको जिकिर छ ।
उनले भने, ‘किनकि यसलाई समाप्त नगरी नेपाल र नेपालीलाई कमजोर बनाउन सकिन्न । हिजो यो आन्दोलनको विकास र रक्षाका लागि हामीले नेकपा गठन गर्न निर्णायक पहल लियोँ । त्यसको परिणाम पनि आयो, तर त्यसलाई व्यक्तिगत स्वार्थ र अहंकारले सफल हुन दिएन । आज हामी फेरि एक पटक आन्दोलनको पुनर्गठनमा छौँ, नेपाली कम्युनिस्ट पार्टीका रूपमा। यो केवल एउटा पार्टी होइन, समग्र वाम आन्दोलनकै पुनर्गठनको प्रारम्भ हो ।’
वाम आन्दोलनको मूल्यको रक्षाका लागि नेकपा एमाले पनि भोलि आफूहरूसँगै मिसिने दाहालले सुनाए ।
उनले आफू केवल वाचामात्र गर्ने नभई हिजोको कामको आधारमा रिपोर्ट कार्डसहित आएको बताए । उनले भने, ‘म आज पद होइन, परिवर्तनको निरन्तरताका लागि मत माग्दैछु । भ्रष्टाचार अन्त्य गर्न, माफिया र बिचौलियाको जालो तोड्न, कानुनभन्दा माथि कोही नहोस् भन्ने व्यवस्था कायम गर्न, सरकारी सेवा जनताको ढोकासम्म सरल र पारदर्शी बनाउन हिजो सुरु गरेका काम पूरा गर्न मत माग्दैछु ।’
शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई स्थायित्व, सुशासन र समृद्धितिर लैजान नेकपालाई मत चाहिएको उनको भनाइ थियो ।








