२३ फागुन, काठमाडौं । कैलाली-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आनन्दबहादुर चन्दले जितले जिम्मेवारी महसुस गराएको बताएका छन् । यो क्षेत्रमा धनगढी उपमहानगरपालिकाको भूगोल पनि पर्दछ ।

निर्वाचित भएपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै चन्दले जित नभई जिम्मेवारी बढेको बताएका हुन् ।

‘यो जित मात्रै होइन, यसले ठुलो जिम्मेवारी महसुस गराएको छ,’ चन्दले भने, ‘यहाँका सम्मानित मतदाताहरूले जिताउनु भएको छ । यसका लागि सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा जेनजी पुस्तालाई नमन व्यक्त गर्न चाहन्छु ।’

उनी नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मतले पराजित गर्दै विजयी भएका हुन् । चन्द ३१ हजार ९५३ मतका साथ प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी शाहले ११ हजार ९५८ मत ल्याएका छन् ।

कैलाली–५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले सात हजार ८७६ मतसहित तेस्रो भएका छन् । नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगाना (उपाध्याय) पाँच हजार ८३९ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोशन शाहीले एक हजार ५९२ मत ल्याएका छन् ।