सुर्खेत । सुर्खेतको गुर्भाकोटमा दुई सन्तानसहित बेपत्ता भएकी आमा र छोरीको शव भेरी नदीबाट फेला परेको छ भने पाँचवर्षीय छोरा अझै बेपत्ता छन् ।

गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत आफ्नी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षीय छोरा दीपक कठायतसहित आइतबारदेखि सम्पर्कविहीन भएपछि गरिएको खोजतलासका क्रममा आमा र छोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मायाको शव सोमबार बेलुका भेरी नदीमा फेला परेको थियो भने छोरी आशाको शव मंगलबार बिहान गुर्भाकोट नगरपालिका–१३ को भम्का क्षेत्रमा भेटिएको हो ।

प्रहरीका अनुसार पाँचवर्षीय बालक दीपक कठायत अझै बेपत्ता छन् र उनको खोजी कार्य जारी रहेको छ ।

माया आइतबार बिहान आफ्ना दुई सन्तानसहित घरबाट निस्किएकी थिइन् । साँझसम्म पनि सम्पर्कमा नआएपछि उनका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा चार जनाको टोली तथा स्थानीयवासी खोजीमा खटिएका थिए । खोजीका क्रममा घरदेखि करिब तीन किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको थियो ।

उक्त सामग्री फेला परेपछि मायाले भेरी नदीमा हाम फालेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । सोमबार बिहानैदेखि करिब ३५ जना प्रहरी र स्थानीय बासिन्दा संयुक्त रूपमा खोजतलासमा परिचालित भएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।