सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायका महिलाले प्रयोग गर्ने परम्परागत गहना र पहिरन लगाउने चलन घट्दैै जान थालेको छ । आधुनिक गहना, बजारमा पाइने कपडा र जीवनशैलीमा आएको परिवर्तनका कारण परम्परागत पहिरन र गहनाको प्रयोग घट्दै गएको हो ।

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीकी ६० वर्षीया सोमती रानाका अनुसार पहिले महिलाहरूले घरमै हातले बुनेका घघँरिया, अँगिया, फतुई, उढनिया लगायतका पहिरन लगाउने गर्थे । त्यसबेला महिलाले शिरदेखि पाउसम्म चाँदीका गहनाले सजिने चलन थियो । कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीका पैसाले बेरेको कालो धागो, त्यसको तल कठुला, हसुला र सकरगरेला लगाउने चलन रहेको उहाँले बताउनुभयो ।

“पाखुरामा लगौरा, नाडीमा पहुँची, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्री भएको कैँधनी, पैतलामाथि ढुन्नी, त्यसको तल पैँडा र पायल लगाउने गरिन्थ्यो” उहाँले भन्नुभयो, “घाँटीमा कण्ठ, गरिया र घिच्ची लगाउने प्रचलन पनि रहेको थियो ।”

परम्परागत पहिरन र गहना लगाएकी महिलालाई पहिले समाजमा सम्मानका साथ हेर्ने गरिन्थ्यो । “टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, कम्मरमा घघँरिया र खुट्टामा पैँडा लगाएकी महिलालाई सभ्य, संस्कारयुक्त र प्रतिष्ठित महिलाका रूपमा लिने गरिन्थ्यो,” चन्द्रमती रानाले भन्नुभयो ।

“अहिले परम्परागत गहना थोरै महिलासँग मात्र बाँकी छन्” उहाँले भन्नुभयो, “धेरै महिलाले आधुनिक डिजाइनका सुन तथा कृत्रिम गहना प्रयोग गर्न थालेपछि पुराना गहनाको प्रयोग घट्दै गएको छ, परम्परागत गहना बनाउने सीप भएका कारीगर पनि अहिले पाउन मुस्किल भएकाले परम्परागत गहना हराउँदै गएका छन् ।”

फुलमती रानाका अनुसार पहिले पुरुष र महिलाको पहिरन स्पष्ट रूपमा परम्परागत थियो । अहिले पुरुषले पुरानो पहिरन लगाउन छाडिसकेका छन् भने महिलाको पहिरनमा पनि आधुनिकताको प्रभाव देखिन थालेको छ । परम्परागत पहिरन जोगाउने प्रयास भए पनि पहिले जस्तो पूर्ण रूपमा परम्परागत पहिरन लगाउने चलन भने घट्दै गएको उहाँले बताउनुभयो ।

“राना थारू समुदायमा प्रयोग हुने धेरै गहना चाँदीका हुने गर्थे” उहाँले भन्नुभयो, “ती गहना केवल सौन्दर्यका लागि मात्र नभइ सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था र सांस्कृतिक पहिचानसँग पनि जोडिएका थिए, विवाह, पर्व, पूजा, नाचगान तथा विशेष अवसरमा महिलाले अनिवार्य रूपमा ती गहना र परम्परागत पहिरन लगाउने गर्थे ।”

उहाँका अनुसार पहिले घरमै कपडा र धागो तयार गरी पहिरन बनाउने चलन थियो । महिलाहरू आफैँले पहिरन तयार गर्ने गर्थे । अहिले बजारमा पाइने कपडा प्रयोग गर्न थालिएपछि घरमा कपडा तयार गर्ने परम्परा पनि हराउँदै गएको छ । यससँगै परम्परागत पहिरन पनि विस्तारै हराउँदै गएको स्थानीय बुढापाकाको भनाइ छ ।

परम्परागत गहना बनाउने कालिगढको सङ्ख्या घट्नु पनि अर्को कारण रहेको बताइएको छ । “पहिले गाउँमै गहना बनाउने सुनचाँदीका कारीगर हुन्थे, अहिले त्यस्ता कालिगढ पाउन गाह्रो भएको छ” रानाथारु अगुवा रामशाह रानाले भन्नुभयो, “नयाँ पुस्ताले परम्परागत गहना बनाउन सिक्न नचाहँदा यो सीप पनि लोप हुने अवस्थामा पुगेको छ ।” उहाँका अनुसार परम्परागत गहना र पहिरन केवल कपडा वा आभूषण मात्र नभइ राना थारू समुदायको इतिहास, संस्कृति, पहिचान र जीवनशैलीसँग जोडिएको सम्पदा हो । त्यसैले यसको संरक्षण आवश्यक रहेको उहाँले बताउनुभयो ।

अहिले केही स्थानमा सांस्कृतिक कार्यक्रम, विवाह र विशेष अवसरमा मात्र परम्परागत पहिरन लगाउने गरिन्छ, भने दैनिक जीवनमा आधुनिक पहिरन प्रयोग हुने गरेको छ । यसले गर्दा नयाँ पुस्ताले पुराना पहिरन र गहनाको नामसमेत नजान्ने अवस्था आउँन थालेकोप्रति उहाँले चिन्ता प्रकट गर्नुभयो ।

परम्परागत गहना र पहिरनको संरक्षणका लागि स्थानीय तह, समुदाय र सरोकारवाला निकायले पहल गर्न आवश्यक छ । परम्परागत गहना बनाउने कालिगढलाई प्रोत्साहन, सीप हस्तान्तरण, सांस्कृतिक कार्यक्रम आयोजना तथा सङ्ग्रहालय स्थापना जस्ता कार्य गर्न सके परम्परागत पहिरन र गहना जोगाउन सकिने शुक्लाफाँटा नगरपालिका १२ का वडाध्यक्ष नवलसिंह राना बताउनुहुन्छ ।

“राना थारू समुदायका परम्परागत गहना र पहिरन केवल सौन्दर्यको साधन मात्र नभइ सांस्कृतिक पहिचानको महत्वपूर्ण प्रतीकका रुपमा रहेका छन” उहाँले भन्नुभयो, “यसको संरक्षण र पुस्तान्तरण आजको आवश्यकता हो, समयमै संरक्षण गर्न सकिएन भने राना थारू समुदायका परम्परागत गहना र पहिरन इतिहासका पानामा मात्र सीमित हुने खतरा बढ्दै गएको छ ।”