दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकपछि अर्को गर्दै विशेषज्ञ सेवा थपेपछि सेवा लिने बिरामीको चाप बढि रहेको छ । दैनिकजसो १ हजारको हारहारीमा बिरामी प्रतिष्ठानमा उपचारका लागि आइरहेका छन् । यसैक्रममा प्रतिष्ठानले बिरामीको सेवालाई ध्यानमा राख्दै शुक्रबार गरेको बृहत क्यान्सर परामर्श तथा परीक्षण शिविरमा करिब ३ सय बढिले स्वास्थ्य जाँच गराएका छन् ।बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म चलेको शिविरमा मेडिसिन तर्फ २१ जना, गाइनोतर्फ १ सय ९३ जना र सर्जरी तर्फ ७२ जनाकाे स्वास्थ्य जाँच गरिएकाे प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए । उनले क्यान्सरको सेवा सुरु गर्न प्रतिष्ठानले पहल गरेको र यस्ता शिविरले क्यान्सरका बिरामी पहिचान र उपचार गर्न सहज हुने बताए ।

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनसँगको प्राविधिक सहयोगमा शिविर भएको हो । शिबिरबाट ठुलो संख्यामा बिरामी लाभान्वित बनेको लम्सालले बताए । शिविरमा क्यान्सर अस्पताल भरतपुर चितवन र प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारी खटाइएको थियो ।क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सककारुपमा मेडिकल अंकोलोजी डा. बिबेक कंडेल, ब्रेष्ट सर्जरी डा. अनुप भट्टचन, युरोलोजी डा. बोधराज गौतम, गाइनो अंकोलोजी, डा. अस्मिता ओलीले शिविरमा स्वास्थ्य जाँच गरेका थिए ।
प्रतिष्ठानमा क्यान्सर सम्बन्धि भएको यो ठुलो र पहिलो शिविर हो । प्रतिष्ठानमा क्यान्सर उपचार सेवा सुरु गर्न सहकार्य गर्ने र क्यान्सर अस्पताल बिच यसअघि दुबै स्वास्थ्य संस्थाबिच भएको सम्झौता अनुरुप शिविर भएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने निमित्त उपकुलपति प्रा. लम्सालको भनाई छ ।शिविरमा महिलाको पाठेघर, स्तन, योनी लगायतको क्यान्सर परीक्षण हुने भएकाले क्यान्सरका बिरामी र पाठेघरमा समस्या भएका, स्तनमा गाठा भएका, योनी चिलाउने तथा घाउ भएका लगायतका समस्या हुने महिलाहरुले परीक्षण गराएका थिए ।