काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान जारी छ। लेखकलाई केही समयअघि महाराजगन्जस्थित प्रहरी हिरासतबाट बयानका लागि उपस्थित गराइएको थियो।

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोपमा उनीसहित तीन जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही सिफारिस भएको थियो। लेखकको बयान सकिएपछि मात्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान सुरु गरिने जानकारी प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले दिए।

लेखकले आफ्नो बयानमा भाद्र २३–२४ का घटनामा प्रत्यक्ष गोली चलाउन आदेश नदिएको र सुरक्षा व्यवस्थाका लागि मात्र समन्वयात्मक निर्देशन दिएको स्पष्ट पारेका छन्। उनले प्रदर्शन उग्र हुँदा प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई जानकारी गराएको र घाइतेहरूको उपचार तथा हताहती रोक्न निर्देश दिएको बताएका छन्।

लेखकले घटनामा घुसपैठ र आपराधिक गतिविधि भएको स्वीकार गर्दै कानुनी सुधार, सुरक्षा निकायको क्षमता अभिवृद्धि, मानव अधिकारमैत्री भीड व्यवस्थापन र राजनीतिक प्रशासनिक उत्तरदायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।