चीनका राष्ट्रपति सी चिनफिङले ताइवानको मुद्दा अमेरिका–चीन सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण भएको बताएका छन् । उनले ताइवानको मुद्दालाई ठिक ढंगले अघि नबढाए चीन–अमेरिका सम्बन्ध असाध्यै खतरनाक स्तरमा पुग्नेसमेत चेतावनी दिएका छन् ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले ट्रम्पसँगको जारी बैठकमा ताइवान मुद्दा उठाएका हुन् । उनले ताइवान मुद्दा सही ढंगले अघि बढाएमा अमेरिका र चीनबीचको सम्बन्धमा स्थिरता आउने बताएका छन् ।
ताइवान लामो समयदेखि अमेरिका र चीनबीचको सबैभन्दा संवेदनशील मुद्दामध्ये एक हो । चीनले ताइवानलाई आफूबाट अलग भएको एक प्रान्त ठान्छ ।
तर, अमेरिकाले एक चीन नीति स्वीकार गरे पनि ताइवानलाई सैन्य र राजनीतिक समर्थन दिँदै आएको छ । पछिल्ला वर्षमा अमेरिकाले ताइवानलाई अर्बौं डलरका हतियार प्याकेज दिँदै आएको छ । जसको चीनले लगातार विरोध गर्दै आएको छ ।








