विश्व फुटबलको इतिहासमा पहिलो पटक फिफा वरीयताका शीर्ष चार टोलीहरू विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएका छन्।

स्पेन (१), अर्जेन्टिना (२), फ्रान्स (३) र इंग्ल्यान्ड (४) यसरी अन्तिम चारमा पुग्नुमा फिफाले २०२६ को विश्वकपका लागि ड्र प्रक्रियामा गरेको परिवर्तनले ठूलो सहयोग पुर्‍याएको छ।

फिफाले यी टोलीहरूलाई सुरुमै फरक-फरक समूहमा राखेको थियो, ताकि सेमिफाइनलअघि उनीहरूबीच आपसमा प्रतिस्पर्धा नहोस्।

यो योजना सफल हुनका लागि सबै टोलीले आ-आफ्नो समूह जित्नुपर्ने थियो, जुन उनीहरूले गरे। यो नयाँ व्यवस्थाका कारण स्पेन र अर्जेन्टिनाको भेट फाइनलअघि सम्भव भएन। त्यस्तै, फ्रान्स र इंग्ल्यान्डलाई पनि विपरित दिशामा राखिएको थियो, ताकि उनीहरू आ-आफ्नो खेल जितेर सेमिफाइनलमा स्पेन वा अर्जेन्टिनासँग मात्र भिडुन्।

फिफाले यस कदमलाई ‘प्रतिस्पर्धात्मक सन्तुलन’ मिलाउन चालिएको कदम भनेको छ, जसले सेमिफाइनलसम्म पुग्ने दुई छुट्टाछुट्टै बाटाहरू तय गरेको थियो। अब सेमिफाइनलमा मंगलबार फ्रान्स र स्पेन भिड्नेछन् भने बुधबार इंग्ल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै खालको अभ्यास विम्बलडन टेनिस र च्याम्पियन्स लिगको नयाँ ढाँचामा पनि गरिन्छ, जहाँ शीर्ष खेलाडी वा टोलीहरूलाई सुरुवाती चरणमै एक-अर्कासँग भिड्नबाट जोगाइन्छ।

फिफा वरीयता सन् १९९४ देखि सुरु भए पनि त्यतिबेलाको विश्वकपमा यसको प्रयोग गरिएको थिएन। विगतका विश्वकपमा शीर्ष चारमा परेका टोलीहरू प्रायः चाँडै बाहिरिने गरेका थिए।

जस्तै: बेल्जियम (२०२२), जर्मनी (२०१८), स्पेन (२०१४), इटाली (२०१०) र फ्रान्स (२००२) शीर्ष चारमा भएर पनि समूह चरणबाटै बाहिरिएका थिए। सन् १९९८ यताका कुनै पनि विश्वकपमा शीर्ष चार टोलीहरू एकैसाथ सेमिफाइनल पुग्न सकेका थिएनन्।

फिफाले यसपटक ड्र प्रक्रिया परिवर्तन गर्दा पूर्ण रूपमा पारदर्शिता अपनाएको थियो। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शीर्ष टोलीहरू नकआउट चरणको सुरुमै नभिडुन् भन्ने चाहेको थियो, ताकि प्रतियोगिताको अन्त्यतिर ‘ब्लकबस्टर’ (ठूला र आकर्षक) खेलहरू हेर्न पाइयोस्।Ncell

पहिले ३२ टोली सहभागी हुने विश्वकपमा समूह विजेता अन्तिम १६ मै भिड्ने सम्भावना हुँदैनथ्यो। सन् २०१० मा नेदरल्याण्ड्सले ब्राजिललाई क्वार्टरफाइनलमा हराएयता शीर्ष चार टोलीहरू सेमिफाइनलअघि आपसमा भिडेका थिएनन्।

तर, अहिले ४८ टोली सहभागी हुने विश्वकपमा एउटा अतिरिक्त नकआउट चरण थपिएकाले समूह विजेताहरू बीचमै भिड्ने सम्भावना निकै बढी थियो। यसै गर्मीमा भएका अन्तिम १६ का खेलहरूमा अमेरिका र बेल्जियम, इंग्ल्यान्ड र मेक्सिको, तथा स्विजरल्याण्ड र कोलम्बिया जस्ता खेलहरूमा यस्तै भएको थियो।

त्यसैले ४८ टोलीको ढाँचाका कारण फिफाले यो सानो फेरबदल गर्नुपरेको महसुस गर्‍यो। फिफाको उद्देश्य ठूला टोलीहरू बीचमै बाहिरिने अवस्थालाई रोक्नु थियो।

गत वर्षको क्लब वर्ल्ड कपमा पनि यही नियम लगाइएको थियो, तर त्यतिबेला शीर्ष चारमध्ये रियल म्याड्रिड मात्र सेमिफाइनलमा पुग्न सफल भएको थियो। यसपटक भने फिफाले जे चाहेको थियो, ठ्याक्कै त्यस्तै भएको छ।