१८ असोज, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको स्थापना, संरक्षणलगायत क्षेत्रमा लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन् ।
कांग्रेस गगन थापाको महाधिवेशनमा शुभकामना सन्देश पठाउँदै अध्यक्ष खड्गेले दुई देशका राजनीतिक दलबीचको लोकतान्त्रिक सहकार्यको स्मरण गराएका छन् ।
उनले कांग्रेसको महाधिवेशन संस्थापक नेता बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् ।
राष्ट्रिय महाधिवेशन वास्तवमा तपाइका संस्थापक स्वर्गीय बीपी कोइरालाले अगाडि बढाएको लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका साथै लोकतान्त्रिक संस्थाहरूको निरन्तर सुदृढीकरणबारे विचार–विमर्श गर्ने महत्त्वपूर्ण अवसर हो, अध्यक्ष खड्गेले सन्देशमा भनेका छन् ।
उनले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको हितमा आपसी समझदारी, ऐक्यबद्धता र सहकार्यको लामो तथा घनिष्ठ इतिहास रहेको उल्लेख गरेका छन् । म यी सम्बन्धहरू र हाम्रा दुई पार्टी तथा दुई देशबीचको स्थायी सम्बन्धलाई उच्च सम्मान गर्दछु, अध्यक्ष खड्गेले भनेका छन् ।








