धुलिखेल–खावा सडकखण्ड : ठेक्का तोड्ने तयारी

समाचार शेयर गर्नुहोस्

बनेपा, माघ २५ गते । अरनिको राजमार्ग कालोपत्रेसहित स्तरोन्नति अन्तर्गत धुलिखेल–खावा सडकखण्डको कामको जिम्मा पाएको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिने प्रक्रिया अघि बढाइएको छ ।  धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले सन्तोषजनक रूपमा काम नगरेको भन्दै डिभिजन सडक कार्यालय भक्तपुरले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो ।

डिभिजन सडक कार्यालय, भक्तपुरका प्रमुख सिडिई मेघराज मरासिनीले कार्यालयले पटक पटक ताकिता र निर्देशन दिँदासमेत निर्माण कम्पनीले सन्तोषजनक काम नगरेका कारण ठेक्का रद्द (तोड्ने) गर्ने  प्रक्रिया अघि बढाएको बताउनुभयो । “निर्माण व्यवसायीले हालसम्म ९० प्रतिशतभन्दा बढी काम सम्पन्न गर्नुपर्ने हो तर विद्युत्, वनको समस्याको बहाना बनाएर काम गर्नुभएन, काम हेर्दा हालसम्म १५ प्रतिशत मात्रै काम भएको देखिएको र दुई वर्षमा गर्न नसकेको काम बाँकी रहेको दुई महिनाको अवधिमा सम्पन्न गर्ने कुनै आधार र विश्वास नदेखिएकाले कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो,” उहाँले भन्नुभयो ।

सिडिई मरासिनीले निर्माण कम्पनीले सडक निर्माणको काममा अग्रसरता नदेखाएको, कार्य सम्पन्न गर्न पटक पटक मौखिक, टेलिफोन, पत्राचार तथा विभिन्न सूचनाको माध्यमबाट निर्माण कार्यको प्रगति उल्लेखनीय बनाउन अनुरोध र निर्देशन दिए पनि अटेर गरेकाले केही दिनअघि ठेक्का अन्त्य किन नगर्ने ? भनेर कार्यालयले सार्वजनिक सूचनासमेत जारी गरेको बताउनुभयो ।

कार्यालयले ठेक्का किन नतोड्ने भन्दै जारी गरेको सार्वजनिक सूचनामा सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ । सिडिई मरासिनीले निर्माण व्यवसायीले धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक ११ मिटरको सडक फराकिलो बनाई, कालोपत्रे गर्ने, नाली बनाउने र टेवा पर्खाल लगाउने काम भए पनि नगरेको आरोप लगाउँदै दुई महिना समय बाँकी हुँदा ठुलो मात्रामा उपकरण तथा मजदुर लगाएर काम गर्नुपर्ने अवस्था रहे पनि निर्माण व्यवसायीले कार्य क्षेत्रमा मजदुर र उपकरण नै नलगाएको बताउनुभयो ।

निर्माण कम्पनीले हालसम्म करिब डेढ किलोमिटर सडक कटिङ गर्ने, केही स्थानमा नाली र टेवा पर्खाल लगाउने काम मात्रै गरेको छ । डिभिजन सडक कार्यालय भक्तपुर र निर्माण कम्पनीबिच ठेक्का सम्झौता भएको मितिले २२ महिना अर्थात् २०८० साल चैत १९ गते सम्पन्न गर्ने गरी गत वर्ष जेठ २० गते सम्झौता भएको थियो ।

भ्याटसहित २० करोड १९ लाख रुपियाँको लागतमा निर्माण सम्झौता भएकोमा निर्माण व्यवसायीले हालसम्म मोबिलाइजेसनबापत एक करोड ७६ लाख १६ हजार रुपियाँ र काम गरेको बिलको भुक्तानीबापत एक करोड ६० लाख ५४ हजार ७३८ रुपियाँ भुक्तानी लिएको कार्यालयले जनाएको छ ।

दुई महिनाअघि पाँचखालमा भएको एउटा कार्यक्रममा आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अलपत्र अवस्थामा रहेको धुलिखेल–खावा सडकखण्डको कामलाई तीव्रता दिन निर्देशन दिए पनि निर्माण व्यवसायीले सात/आठ जना कामदार राखेर काम ओगट्ने काम मात्रै गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको