नेपालमा पछिल्ला वर्षमा बाढीपहिरो, डुबान, हिमपहिरो र हिमताल विस्फोटबाट जनधनको क्षति हुने गरेको छ । बुधबार बिहान रसुवा जिल्ला र यसको तल्लो तटीय क्षेत्रमा अकल्पनीय क्षति भयो । रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीपहिरोेले सीमावर्ती क्षेत्र टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायतका क्षेत्रमा गरेको अकल्पनीय जनधनको क्षतिले सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको छ । तिब्बतमा भीषण वर्षासँगै हिमताल विस्फोटका कारण अचानक बाढीपहिरो आएको अनुमान गरिएको छ । यो विपत्मा केही नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्युत् तथा भन्सार कर्मचारी, पर्यटक तथा पदयात्री र स्थानीयवासीसमेत सम्पर्कविहीन छन् । यस विपत्मा अर्बौं रुपियाँका भौतिक पूर्वाधार, सवारीसाधन, जलविद्युत् आयोजना ध्वस्त र क्षतिग्रस्त भएका छन् । भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र क्षतिग्रस्त बनेको छ । बाढीपहिरोले टिमुरे बजारका बस्ती, व्यापारिक प्रतिष्ठान, सुरक्षा निकायका कार्यालय बगाएको छ । रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति पुग्नुका साथै जाँचपासका लागि राखिएका सयौँ नयाँ गाडी बाढीको लेदोमा पुरिएका वा बगेका छन् । चिलिमेलगायतका महìवपूर्ण जलविद्युत् आयोजना र २२० केभी सबस्टेसनमा क्षति पुगेको छ । सडक सञ्जाल र पुलहरू बगाएका कारण प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भएको छ । यस बाढीपहिरोको असर नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म परेको छ ।

आकस्मिक विपत्ति आएको सूचना पाउनेबित्तिकै प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरमार्फत तत्काल उद्धार, राहत र चिकित्सक टोली पठाएर युद्धस्तरमा उद्धार तथा राहतको कार्य भइरहेको छ । स्थलमार्गबाट उद्धार तथा राहत टोली घटनास्थल पुगेका छन् । तिनै तहका सरकार, राजनीतिक दल, सामाजिक सङ्घ संस्था तथा आमनागरिक उद्धारमा खटिएका छन् । विपत्को खबरलगत्तै सम्भावित जोखिमलाई दृष्टिगत गरी काठमाडौँबाटै तल्लो तटीय जिल्लातर्फ जाने सवारीसाधन यतै रोकिएका छन् । बुधबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस विपत्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनर्बासमा कुनै कमी आउन नदिने निर्णय गरेको छ । सरकारले प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यस्तो विपत्का बेला सञ्चारजगत् र सामाजिक सञ्जाल बढी जिम्मेवार बनेर सही तथा तथ्यपरक सूचना प्रवाह गर्नु पर्छ ।