२५ जेठ, काठमाडाैं

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले बागमती र अन्य नदीको सफाइमा २२ अर्ब बागमतीमा बगिसकेकाे टिप्पणी गरेकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै डाँगीले नदी सफाइको नाउँमा वर्षेनी दुई अर्ब  खर्च गरिएपनि खोलानाला जस्ताको तस्तै रहेको बताएकी हुन्।

‘बागमती लगायत अन्य नदीको दुर्दशा बदल्ने भनेर अहिलेसम्म २२ अर्ब बागमतीमा बगिसकेको छ,’ उनले भनिन्, ‘एकातिर नदी सरसफाई गर्ने भनेर वर्षेनी दुई अर्ब रूपैयाँ बढि खर्च गरिन्छ तर खोलानाला जस्ताको त्यस्तै छ।’

डाँगीले भनिन् ‘खानेपानी ऐनले मलमूत्र खोलामा मिसाउनेलाई ३ महिनादेखि ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । ‘यो दण्ड जरिवानाको भागिदार को हो? ढल व्यवस्थापनको जिम्मा लिएको स्थानीय तह, अधिकारसम्पन्न बागमति सभ्यता एकीकृत विकास समिति कि स्थानीय?’ उनको प्रश्न छ। डाँगीले बागमतीका नाममा राजनीति मात्रै भएको बताइन्।