काठमाडाैं,५ साउन
राजस्व अनुसन्धान विभागले विमानस्थलबाट बरामद भएकाे सुन तस्करी प्रकरणमा बिहिबार राति सुन तस्करीमा थप दुइ जना पक्राउ परेकाे छ।
ट्रान्स ग्लोबल सर्भिसका पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पक्राउ गरिएको हो । याेसँगै सुन तस्करी प्रकरणमा पक्राउ सङ्ख्या १० पुगेकाे छ।
हालसम्म दोलखा घर भएका रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पक्राउ परेका छन् । उनीहरूले बयानका क्रममा अरु कसैको नाम लिएको प्रहरीले बताएको छैन । समातिएका ६ जना भरिया हुन् वा कारोबारी हुन् भन्ने पनि यकिन खबर बाहिर आइसकेको छैन । बिहीबार नै एक चिनियाँ नागरिक पनि समातिएका छन् । उनी तिब्बत जान लाग्दा विमानस्थलबाटै पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई बिहीबार नै अदालतमा पेश गरिएको छ । उच्च अदालत पाटनले अभियुक्तहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमा ल्याइएको ‘ब्रेक शु’ मा सुन फेला परेको थियो। अन्दाजी ८० देखि १०० किलोसम्म सुन हुन सक्ने आशंका गरिएको छ। सुनको परिमाण यकिन गर्न विभागले राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ।








