काठमाडाैं,७ साउन
उत्तरी मेक्सिकोमा मदिराको मातेको एक व्यक्तिले मधुशालामा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छभने अन्य चार जना घाइते भएका छन् ।
उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिबार उक्त घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आक्रमणमा सात जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका छन् ।
मदिराले मातेको एक अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा बारमा आगो झोसेको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । मदोन्मत्त उसले बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उसलाई बारबाट निष्काशन गरिएको थियो ।
कथित अपराधी पत्ता लगाउन सङ्घीय, स्थानीय र नगरपालिकाको समन्वयमा मन्त्रालयको अपराध अनुसन्धान निकाय र विज्ञ सेवाले घटनास्थलमा काम गरिरहेका जनाइएको छ ।
सान लुइस रियो कोलोराडोका मेयर सान्तोस गोन्जालेज येस्कासले आक्रमणलाई “दुःखद घटना भन्दै नागरिक सुरक्षा कार्यालय र नगरपालिकाका अग्नि नियन्त्रकरूले अनुसन्धानमा सहयोग गरिरहेका बताएका छन्।