काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पक्राउ गर्न कुनै विशेष सैन्य अभियान सञ्चालन गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् ।

यो प्रश्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको टिप्पणीसँग जोडिन्छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई अमेरिकी डेल्टा फोर्सले पक्राउ गरेपछि प्रतिक्रिया दिँदै जेलेन्स्कीले भनेका थिए, “यदि तानाशाहहरूलाई यसरी सामना गर्न सकिन्छ भने संयुक्त राज्य अमेरिकाले अब के गर्नुपर्छ भन्ने उसलाई थाहा छ ।” जेलेन्स्कीले नाम नलिइकनै पुटिनतर्फ संकेत गरेको विश्लेषण गरिएको थियो ।

जवाफमा ट्रम्पले भने, “मलाई लाग्दैन त्यस्तो गर्नु आवश्यक हुन्छ । पुटिनसँग सधैं राम्रो सम्बन्ध रहँदै आएको छ । तर, म धेरै निराश छु ।”

ट्रम्पले युक्रेन–रुस युद्ध अन्त्य गर्न आफूले प्रयास गरिरहेको भए पनि सम्झौता गर्न कठिन भइरहेको गुनासो गरे । “मैले आठवटा युद्ध समाधान गरिसकेको छु,” उनले दाबी गरे, “मलाई लाग्थ्यो यो मध्यम वा सजिलोमध्ये पर्छ, तर अहिले पनि समस्या छ । पछिल्लो एक महिनामा मात्र ३१ हजार मानिसको ज्यान गएको छ, जसमा धेरै रुसी सैनिक छन् । रुसी अर्थतन्त्र पनि कमजोर अवस्थामा छ ।”

उनले युद्ध अन्त्य हुनेमा आशावादी रहेको बताउँदै भने, “अन्ततः यो समाधान हुन्छ भन्ने मलाई लाग्छ । अझ चाँडो गर्न सकिएको भए राम्रो हुन्थ्यो, किनकि धेरै मानिसहरू मरिरहेका छन् ।”

रुसले २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अझै जारी छ । ट्रम्पले चुनावी अभियानमै यो युद्ध अन्त्यलाई प्राथमिकता बनाउने बताएका थिए ।