काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भइन्। आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई स्वागत गरे।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिज्ञ र राप्रपाका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो। आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको उच्च कदर गर्दै राप्रपाले हरेक वर्ष पुस २७ गते विशेष कार्यक्रम गर्दै आएको छ।

सो अवसरमा राप्रपाले मुलुकको वर्तमान संकट समाधान र सही बाटोमा अघि बढाउन राजसंस्थाको आवश्यकता रहेको आफ्नो राजनीतिक अडानलाई पुनः दोहोर्‍यायो। प्रधानमन्त्री कार्कीले समारोहमा सहभागी भई राष्ट्रिय एकताका प्रतीक शाहप्रति सम्मान प्रकट गरिन्। राप्रपाले आजै बिहान सिंहदरबारस्थित शाहको सालिकमा माल्यार्पण गरी र्‍यालीसमेत निकालेको कुरा आयोजकले बताए।