केपी शर्मा ओली पाँचौँ पटक प्रधानमन्त्रीको उम्मेदवार बन्दै गर्दा एउटा साधारण तर गम्भीर प्रश्न नागरिकको मनमा उब्जिएको छ—यो देशमा ओलीले गर्न बाँकी चाहिँ के छ?

भदौ २४ अघि उनी सरकारमै थिए। सत्ता, शक्ति, संयन्त्र—सबै उनकै हातमा थिए। त्यसो भए आज फेरि ‘अन्तिम अवसर’को भाषणसहित प्रधानमन्त्री बन्ने चाहना किन? कुन काम गर्न नसकेर, कुन जिम्मेवारी पूरा नभएर उनी फेरि उम्मेदवार बनेका हुन्? नागरिकका अगाडि उभिएर यसबारे चित्तबुझ्दो जवाफ दिन सक्ने नैतिक हैसियत आज ओलीसँग बाँकी छ?

भदौ २४ गते दिउँसो करिब २ बजेतिर हेलिकप्टर चढेर बालुवाटार छाड्नुपर्ने अवस्था किन आयो? त्यो दृश्य कुनै प्राकृतिक प्रकोपको परिणाम थिएन, त्यो राजनीतिक असफलताको प्रत्यक्ष परिणाम थियो। प्रश्न उठ्छ—त्यो अवस्था कसले सिर्जना गर्‍यो? सडकमा उत्रिएका नागरिकले कि सत्ता सञ्चालनमा चुक्ने नेतृत्वले? उत्तर असहज छ तर स्पष्ट छ, अविश्वास नेतृत्वतर्फै केन्द्रित थियो।

इतिहास र वर्तमानबीचको दूरी एमालेको व्यवहारमा झनै प्रस्ट देखिन्छ। २००८ सालमा मारिएका बालख विद्यार्थी चिनिया काजीको फोटोमा माला पहिर्याएर श्रद्धाञ्जली दिने एमालेले संसद् भवन अगाडि मारिएका २४ जना कलिला विद्यार्थीको जिम्मेवारी किन लिन सकेन? किन ती परिवारप्रति संवेदनशील हुन सकेन? के सहानुभूति पनि पार्टीगत सुविधा र राजनीतिक गणनाको विषय हुनुपर्छ?

रगत लतपतिएको हात लिएर फेरि ‘देश चलाउँछौं’ भन्नु र नागरिकले सहजै पत्याइदिऊन् भन्ने अपेक्षा गर्नु लोकतन्त्रप्रतिको अपमान होइन भने के हो? राजनीतिमा कानुनी जवाफदेहिता मात्र होइन, नैतिक जवाफदेहिताको पनि अर्थ हुन्छ। कम्तीमा गल्ती स्वीकार गर्ने, पीडितप्रति संवेदना प्रकट गर्ने र जिम्मेवारी लिने संस्कार त हुनैपर्छ। यो न्यूनतम मानवीय गुण र सभ्यताको कुरा पनि हो । तर आजसम्म ओलीबाट त्यो संस्कार देखिन सकेको छैन।

यसै सन्दर्भमा झापाबाट बालेनको सम्भावित जित केवल एउटा निर्वाचन परिणाम मात्र हुँदै छैन । त्यो जेन–जी चेतनाको उत्कर्ष हो । विरासतको राजनीति अस्वीकार र नयाँ राजनीतिक संस्कृतिको खोजी हो । यो आन्दोलन कुनै व्यक्तिविरुद्ध मात्र होइन, ‘रिटायर्ड’ भइसकेको सोच, शैली र संस्कारविरुद्ध हो।

राजनीति कुनै अनन्त पेशा पनि होइन। समयसँगै जिम्मेवारी सकिन्छ, विश्वसनीयता सकिन्छ र नेतृत्वको वैधता पनि सकिन्छ। ओलीको हकमा त्यो बिन्दु धेरैअघि पार भइसकेको हो । यो कुरा सारा देशले बुनिसक्दा पनि ओलीले पचाएरै बसे । अति भएपछि विद्यार्थीहरू कलेज पोसाकमै सडकमा आए ।

यहाँनिर अब प्रश्न ओलीले के गरे भन्ने होइन, देशले अब कस्तो राजनीति चाहन्छन् भन्ने हो । यदि लोकतन्त्र साँच्चै जोगाउने हो भने ‘सकिएको राजनीति’लाई सकिएको भनेर स्वीकार गर्नैपर्छ । किनकि ओलीले गर्न बाँकी केही छैन ।