देउराली–जनता फार्मास्युटिकल्सले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त परियोजनामा थप ४ अर्ब ७५ करोड लगानी गर्ने भएको हो ।
फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार भरतपुर महानगरपालिका–१६ मा उद्योगको दोस्रो एकाइका लागि संरचनाको काम थालिएको छ, जसको प्रारम्भीक काम अघि बढाइसकिएको शर्माले जानकारी दिए।
थप संरचना निर्माणका लागि सरकारी निकायहरुसँग लिनुपर्ने अनुमतिको चरणमा रहेको उनको भनाइ छ । दुई वर्षभित्रमा निर्माणको काम सक्ने लक्ष्य लिइएको उक्त नयाँ उद्योग अबको दुई महिनामा मुख्य संरचनाको काम गर्ने कम्पनीको योजना छ ।
यो एकाइ सम्पन्न भए पछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने उनले बताए । देउराली–जनता विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो ।
हाल कम्पनीले क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट, ड्राइ पाउडर लगायतका २९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।अन्तरराष्ट्रियस्तरका डब्लूएचओ जीएमपी, आईएसओ ९००१ र आईएसओ १४००१ प्रमाणपत्र प्राप्त यस उद्योगले औषधि आयातमा रहेको निर्भरता घटाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पुर्याइरहेको छ ।
चितवनमा नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार र अन्तरराष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास कम्पनीले लिएको छ । हाल उद्योग काठमाडौंको टोखामा रहेको छ । यो पहिलो एकाइ हो भने दोस्रो एकाइ भरतपुरमा सञ्चालन हुनेछ।








