काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकपमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाए ।

सोमपाल कामीले १५ बलमा २६ रन बनाए ।

सातौं विकेटका लागि दीपेन्द्र र सोमपालले २६ बलमा ५४ रनको साझेदारी गरे ।

यसअघि लोकेश बम १३, गुल्शन झा ११, आसिफ शेख ११ रन, कप्तान रोहितकुमार पौडेल ५, आरिफ शेख २ र ओपनर कुशल भूर्तेले १ रनमा आउट भए ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले २ तथा रस्टन चेज, शमार जोसेफ, अकिल होसेन र म्याथ्यु फोर्डले १–१ विकेट लिए ।

टस जितेर वेस्ट इन्डिजले पहिले बलिङ रोजेको हो ।

प्रतियोगितामा टिकिरहन नेपाललाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर–८ मा पुग्ने संघारमा रहेको छ । आजको खेल जितेमा वेस्ट इन्डिज अर्को चरणमा पुग्नेछ भने नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ ।

वेस्ट इन्डिजले दुई पटकको टी–२० विश्वकप जितिसकेको छ । उसले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो । आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज सातौं स्थानमा छ र कप्तान शाइ होपको नेतृत्वमा रहेको टोली पावर हिटिङका लागि परिचित छ ।