जनकपुरधाम । विश्वकै सबैभन्दा लामो मानिएको पदयात्रा मिथिला मध्यमा परिक्रमा आजबाट मधेश प्रदेशको मिथिला बिहारी नगरपालिका कचुरीबाट सुरू भएको छ ।

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको १५ दिने मध्य मिथिला परिक्रमा फाल्गुन औँसीदेखि पूर्णिमासम्म सञ्चालन हुन्छ । सोमबार धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीको मिथिला बिहारी मठबाट भगवान् राम-जानकीको डोला निकालिएको छ ।

नेपाल-भारत सांस्कृतिक सेतुका रूपमा परिचित परिक्रमा धनुषा, महोत्तरी र भारतको बिहार राज्यका दर्जनौँ धार्मिक तथा ऐतिहासिक स्थल समेट्दै करिब १२० किलोमिटर भू-भागको पदयात्रा हो। यसमध्ये ९० किलोमिटर नेपालतर्फ र ३० किलोमिटर भारततर्फ पर्छ ।

मिथिला माहात्म्यअनुसार मध्य मिथिला परिक्रमा १८औँ शताब्दीभन्दा केही अघिदेखि सुरु भएको उल्लेख पाइन्छ । विष्णु पुराणअन्तर्गतको मिथिला माहात्म्यमा तीन प्रकारका मिथिला परिक्रमाबारे वर्णन गरिएको छ । बृहत् मिथिला परिक्रमा विरलै सन्त-महात्माले मात्र गर्ने गरेको जानकारहरु बताउँछन् । उक्त परिक्रमा बिहारको राजधानी पटना नजिक गंगा नदीको किनारबाट सुरू भई नेपालको धौलागिरी पर्वत, हिमालयको काख र कोशी नदी हुँदै पुनः गंगासम्मको क्षेत्र समेट्छ ।

त्यस्तै, कल्याणेश्वरबाट सुरू भई पुनः त्यहीँ पुगेर सम्पन्न हुने परिक्रमा ‘मध्यमा परिक्रमा’ भनिन्छ। धार्मिक मान्यताअनुसार कल्याणेश्वरबाट मंगलबारदेखि औपचारिक रूपमा १५ दिने मध्य परिक्रमा प्रारम्भ हुनेछ । जनकपुरनगर वरिपरि गरिने परिक्रमा ‘लघु’ अथवा ‘अन्तरगृह परिक्रमा’का रूपमा चिनिन्छ । प्रत्येक विश्रामस्थलमा मिथिला माहात्म्यको कथा वाचन गर्ने परम्परा रहेको छ ।१५ पराउ, नेपाल-भारत दुवैतर्फ

परिक्रमाअन्तर्गत कुल १५ वटा पराउ (विश्रामस्थल) छन्, जसमध्ये चार भारतमा र बाँकी नेपालमा पर्छन् ।

आज निकालिएको राम-जानकीको डोला जनकपुरधामस्थित रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याइन्छ। त्यहाँबाट जनकपुरका विभिन्न मठ-मन्दिरका डोलाहरू समावेश गरी सामूहिक रूपमा परिक्रमा प्रारम्भ हुन्छ । डोलाको पछिपछि परम्परागत बाजागाजा तथा मौलिक मिथिला पहिरनमा सजिएका श्रद्धालु नरनारी सहभागी हुन्छन्।

परिक्रमावासीले क्रमशः जनकपुरको हनुमाननगर, भारतको कलनास्थित कल्याणेश्वर, फूलहरको गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही हुँदै पुनः भारतको करुणा र विसौलसम्म पदयात्रा गर्नेछन्। १५औँ दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्य परिक्रमा सम्पन्न हुनेछ ।

परिक्रमा सम्पन्न भएको भोलिपल्ट मिथिला क्षेत्रमा होली पर्व मनाउने परम्परा छ ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले डोला उठाएर मध्य परिक्रमाको उद्घाटन गरे । उनले रामायण सर्किटलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री यादवले अयोध्यालाई सिधै जनकपुरधामसँग जोड्न जनकपुरधाम विमानस्थल विस्तार गर्ने योजना अघि बढाइने बताए ।

‘अयोध्याबाट दैनिक करिब ५०० यात्रु सिधै जनकपुरधाम आउने गरी डाइरेक्ट फ्लाइट सञ्चालन गर्ने तयारी थाल्नेछौं,’ उनले भने ।