काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसार २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायलगायत महायान बौद्ध धर्मावलम्बी नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।
बुधबार जारी शुभकामना सन्देशमा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै ग्याल्पो ल्होसारजस्ता पर्वले नेपालीबीच एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने परम्परा छ। यस अवसरमा गाउँघर सरसफाइ गर्ने, गुथुक र खाप्से जस्ता परिकार सामूहिक रूपमा खाने तथा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ।








