म्याग्दी । बेनी नगरपालिका–४ थामडाँडाका भीमबहादुर गुरुङ दुईपटक मतदानमा सहभागी भए । पूर्ण दृष्टिविहीन उनी विगतमा तीनै तहको निर्वाचनमा मतदान गरे । नङमा रङ लामो समयसम्म टिके पनि मतदान प्रक्रियाबारे पटक्कै सन्तुष्ट छैनन् ।

नेत्रहीन संघ म्याग्दीका अध्यक्षसमेत रहेका गुरुङले सहयोगीमार्फत भोट हाल्दा गोपनीयता भंग हुन बताए । यसबारे पटक–पटक आवाज उठाउँदासमेत सुनुवाइ नभएको उनको गुनासो छ ।

यस्तै, बेनी नगरपालिका–२ ज्यामरुककोटका दृष्टिविहीन आइतबहादुर दर्जी पनि चुनावमा भ्याएसम्म मतदान गर्दै आइरहेका छन् । तर, परिवारको चाहनाअनुसार नै मत दिने गरेको उनी बताउँछन् ।

“छोराको सहयोगमा मतदान गर्दै आएको छु । उसले भनेकै चिह्नमा मतदान गरिदिए होला भन्नेमा म ढुक्क छैन,” उनले अविश्वास पोखे ।

म्याग्दीमा हरेक निर्वाचनमा पूर्ण दृष्टिविहीन, न्यून दृष्टि भएकाले विद्युतीय मतदानको सुविधाको माग गर्दै आइरहेका छन् । यद्यपि, यसको सुनुवाइ भने हुन सकेको छैन । “निर्वाचनमा आफूले चाहेको उमेदवारलाई मतदान गर्ने नैसर्गिक अधिकारबाट वञ्चित हुनुपरेको छ,” अध्यक्ष गुरुङले भने, “राज्यका निकायहरूले अपांगता भएकालाई दोस्रो दर्जाको नागरिकसरह हेर्ने गरेका छन् । यही कारण हामी मतदानदेखि धेरै कुरामा वञ्चित हुनुपरेको छ ।”

जिल्लामा रहेका दृष्टिविहीनले आफ्नो मत दुरुपयोग भएको गुनासो गर्ने गरेको गुरुङको भनाइ छ ।

अपांग संघ म्याग्दीकी अध्यक्ष गोरी दर्जीले मतदान गर्ने प्रक्रिया दृष्टिविहीनमैत्री नभएको विषयमा निर्वाचन आयोगले समेत चासो नदेखाएको बताइन् । उनले पूर्ण दृष्टिविहीन, न्यून दृष्टिविहीन, बौद्धिक अपांगता भएकालाई विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्ने व्यवस्थाको माग गरिएको बताइन् ।

“हाम्रो आवाज निर्वाचनका बेलामा पनि सुनुवाइ हुँदैन । अहिलेकै स्थितिमा मतदान प्रक्रियामा सहभागी हुनु भनेको मत लुटिएजस्तै हो,” अध्यक्ष दर्जीले भनिन् ।

म्याग्दीमा आफन्त वा मतदान अधिकृतमार्फत मतदानमा सहभागी हुने करिब ६ सयभन्दा बढी छन् । तर, केही असन्तुष्टहरू मतदान प्रक्रियामै सहभागी नहुने गरेको अध्यक्ष दर्जीको भनाइ छ ।

श्रवणशक्ति नभएका तथा न्यून भएका मतदातालाई मतपत्रमा चिह्न देखिने म्याग्निफाइङ ग्लासलगायत उपकरण मतदान केन्द्रमै व्यवस्था हुनुपर्ने म्याग्दी बहुमुखी क्याम्पसका स्ववियु सदस्य एवं अपांग संघ म्याग्दीका सहसचिव विशाल विक बताउँछन् । उनी भन्छन्, “मतदान गर्न विद्युतीय मेसिन भए धेरै सहज हुन्थ्यो । त्यो नभएको खण्डमा मतपेटिकामा ट्याक्टाइल स्टिकर टाँँस्ने, ब्रेललिपि राख्ने र ठूला छापामा मतपत्र भएमा पनि केही हदसम्म सहज हुन्थ्यो ।”

दृष्टिविहिन, बौद्धिक अपाङ्ता भएकाहरूले गोप्य मतदानको अधिकार सुनिश्चिताका लागि राज्यका निकायनै असहयोगी बनेको अगुवा विकको भनाइ छ ।

निर्वाचन ९मतदान० निर्देशिकाअनुसार दृष्टिविहीन वा शारीरिक रूपमा अशक्त मतदाताले सहयोगका लागि एकाघरका सदस्यको मद्दत लिन सक्छन् । यस्तै, मतदाता दृष्टिविहीन वा शारीरिक अशक्तता भएको तथा कुनै कारणवश आफैँ नसक्ने भएमा मत संकेत गर्ने काममा मतदान अधिकृतले सुविधा उपलब्ध गराउने व्यवस्था छ ।

मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने हुन्छ । तर, यो प्रक्रियाको दुरुपयोग भएको सरकारवालाको गुनासो छ ।