भोजपुरका अधिकांश परिवारको आर्थिक आम्दानीको मुख्य आधार वैदेशिक रोजगारी बन्दै आएको छ । वैदेशिक रोजगारबाट प्राप्त आयले यहाँका परिवारको दैनिकी सहज बने पनि आवश्यक जानकारी र सावधानी नअपनाउँदा कतिपय श्रमिक ठगी तथा शोषणमा पर्ने गरेका छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउने उद्देश्यले वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनस्तरसम्म सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममार्फत वैदेशिक रोजगारीसम्बन्धी जोखिम न्यूनीकरण र सुरक्षित आप्रवासनका विषयमा जानकारी दिँदै आएको हो । सामीका भोजपुर जिल्ला कार्यक्रम संयोजक कर्ण पुलामीमगरका अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित र जोखिममुक्त बनाउन जनस्तरमा सचेतना फैलाउने कार्य प्रभावकारी बन्दै गएको छ । ‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, उनले भने ।

कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रमार्फत वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा प्रदान गरिनुका साथै ठगीमा परेका व्यक्तिलाई निःशुल्क कानुनी सेवाका लागि सहजीकरण गरिँदै आएको छ । साथै वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका वा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति प्राप्तिका लागि आवश्यक पहलसमेत गरिँदै आएको छ ।

त्यसैगरी विप्रेषणलाई आयमूलक क्षेत्रमा सदुपयोग गर्न वित्तीय साक्षरता कार्यक्रम, मनोसामाजिक परामर्श कक्षा तथा क्षमता अभिवृद्धिका गतिविधि सञ्चालन हुँदै आएको सामी भोजपुरले जनाएको छ ।