काठमाडौं । काठमाडौं क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अधिवक्ता कमल कोइरालाले मतदातासमक्ष ‘नेता होइन, प्रतिनिधि छानौँ’ भन्ने अपिल गरेका छन् । ‘क्याप’ चुनाव चिह्न लिएर चुनावी मैदानमा रहेका उनले निर्वाचनलाई सामाजिक सम्झौताको आवधिक नवीकरणका रूपमा व्याख्या गर्दै लोकतन्त्रमा जनउत्तरदायित्व केन्द्रित प्रतिनिधित्व आवश्यक रहेको बताए ।

सामाजिक सम्झौता सिद्धान्तका दार्शनिक थोमस हब्स, जोन लक र जाँ–जाक रूसोका विचार उद्धृत गर्दै कोइरालाले चुनाव जनता र राज्यबीचको वैधताको प्रमुख आधार भएको उल्लेख गरे । “चुनाव पाँच वर्षमा हुने औपचारिक प्रक्रिया मात्र होइन, सामाजिक सम्झौताको शान्तिपूर्ण सुधार संयन्त्र हो,” उनले भने, “हाम्रो होइन, राम्रो छानौँ ।”

उनका अनुसार, प्रतिनिधि जनअपेक्षाअनुसार काम गर्न असफल भए मतमार्फत सुधार गर्ने अधिकार जनतासँग रहन्छ । उनले मतदातालाई आवधिक निर्वाचनलाई आत्ममूल्यांकनको अवसरका रूपमा लिन आग्रह गर्दै सुधार र रूपान्तरणको आवश्यकता औँल्याए ।

कोइरालाले आफू दलगत घेराभन्दा माथि उठेर नागरिकको प्रत्यक्ष प्रतिनिधित्व गर्न चाहेको दाबी गरे । पारदर्शिता, विधिको शासन र जनउत्तरदायित्वलाई अभियानका मुख्य आधार बनाएको उनको भनाइ छ ।