नुवाकोट : नुवाकोटको मध्यपहाडी सडकमार्ग अन्र्तगत थानसिङमा यात्रुवाहक टाटासुमो दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।

सदरमुकाम विदुरदेखि २८ किलोमिटर पूर्वमा रहेको उक्त सडकमार्ग अन्तर्गत नुवाकोटको लिखु गाउंपालिका– ६ थानसिङस्थित फंगटेमा वुधवार दुर्घटनाग्रस्त भएको हो । दुप्चेश्वरबाट काठमाडौतर्फ जाँदै गरेको ना १ ज ६६६५ नम्बरको टाटासुमो टोखा–छहरे सडकखण्डको उक्त स्थानमा पुगेपछि अनियन्त्रित भई खेतमा पुगेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उक्त गाडी सडक मार्गबाट दुई मिटर तल पुगेर दुर्घटनाग्रस्त हुँदा गाडीका चालकसहित त्यसमा सवार ६ जना घाइते भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । स्थानीयवासी, प्रहरीले उद्धार गरि तत्काल उपचारको लागि स्थानीय स्वास्थ्यसंस्थामा पठाएकोमा प्राथमिक उपचारपश्चात थप उपचारको लागि ६ जनालाई नै काठमाडौको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगेर उपचार सुरु गरिएको डिएसपी लामाले वताए ।

दुर्घटनामा टाटासुमो चालक नुवाकोटको दुप्चेश्वर गापा १ का. २१ वर्षीय पृतम तामाङ, नाम, ठेगाना नखुलेकी ४२ वर्षीया एक महिला, ठेगाना नखुलेको ५६ बर्षीय राल्पा तामाङ ठेगाना नखुलेको ६८ वर्षीय श्रीमान तामाङ, ललितपुर इमाडोल बस्ने ३५ वर्षीया गोरीमाया सुनार र नाम, ठेगाना नखुलेकी ६५ वर्षीया वृद्धा रहेको नुवाकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक महिलाको अवस्था गम्भीर रहेको छ । धेरैको शरीर, हात, खुट्टा, करङ र ढाडमा चोट लागेको छ । दुर्घटनाग्रस्त गाडी गाडी घटनास्थलमै रहेको छ ।