काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका निम्ति उमेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ ।
निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्ने गरी छुट्टै बैंक खाता खोल्न आयोगले राजनीतिक दल र उमेदवारलाई पटक–पटक ध्यानाकर्षण गराएको छ । तर, अधिकांश उमेदवारले बैंकिङ कारोबारभन्दा बाहिरबाट खर्च गरेकाले आयोगले परिवारसहितको खातामा निगरानी बढाएको हो ।
आयोगले निर्वाचन आचारसंहितामा नै छुट्टै बैंक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयोगका आयुक्त सगुनशमशेर जबराले छुट्टै बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उमेदवारलाई आचारसंहिता उल्लंघनका आधारमा कानुनानुसार कारबाहीको निर्णय गरिने बताए ।
उमेदवारको चुनावी खर्चको अनुगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भइरहेको उनले उल्लेख गरे ।
“…यदि उमेदवारले पुरानै खाता प्रयोग गरेर खर्च गर्नुभएको छ भने, हामीले उमेदवार र उमेदवारको परिवारको बैंक खाताको कारोबारको निगरानी गरिरहेका छौँ,” उनले भने ।
आयुक्त जबराले आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन पनि सबैलाई आग्रह गरे ।








