काठमाडौं । खराब मौसम र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ । बाक्लो हुस्सु र कम भिजिबिलिटीका कारण उडानहरु पूर्ण रुपमा रोकिको नभए पनि विराटनगरका सबै उडानहरु राेकिएका छन् । आन्तरिक र अन्तराष्ट्रिय तर्फको उडान नरोकिए पनि केही ढिलाइ भइरहेको छ ।

अहिलेको प्रतिकूल मौसममा विमानहरु सुरक्षित रुपमा अवतरण गराउन इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) प्रविधि प्रयोग भइरहेको वमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले बताए । यो प्रविधि उपकरणमा आधारित हुने र यसमा विमानहरू बीच निश्चित दूरी कायम राख्नुपर्ने भएकाले सामान्य अवस्थाको तुलनामा अवतरण प्रक्रिया केही ढिलो हुने गर्दछ । मौसमी अवस्था र सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै उडान व्यवस्थापन मिलाइएको छ ।

विमानस्थलमा पार्किङ बे को चापले पनि केही समस्या थपेको छ । कतार एयरवेजका दुईवटा र फ्लाई दुबईको एउटा विमान बे मा बसिरहेकाले स्थान अभाव भई उडान व्यवस्थापनमा केही असर परेको प्रवक्ता बस्नेतले बताए ।