काठमाडौं । असोजमा स्थापना भएको श्रम संस्कृति पार्टीले पाँच महिनापछि भएको चुनावमा प्रत्यक्षतर्फ तीन सिट जितेको छ ।

हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभामा तीन उमेदवार निर्वाचित भएका हुन् । पार्टी अध्यक्ष राई सुनसरी–१ बाट निर्वाचित भए । उनी ३५ हजार ७४१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रास्वपाका गोमा तामाङको मत २७ हजार २४९ छ । राई धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावमा होमिएका थिए । उनले फराकिलो मतान्तरसहित संसद्को यात्रा तय गरेका हुन् ।

सोही पार्टीका आरेन राई खोटाङबाट निर्वाचित भए । उनले १६ हजार ६१२ मत ल्याएर संसद्को यात्रा तय गरे । उनका प्रतिस्पर्धी एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत पाए ।

अर्का उमेदवार ध्रुवराज राई, भोजपुरबाट निर्वाचित भए । उनले एमालेका सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरे । ध्रुवराजले १६ हजार ६६३ मत ल्याउँदा शेरधनले १४ हजार ७५० मत पाए ।

समानुपातिकतर्फ ४५ लाख ३० हजार ९९३ मत गणना हुँदा उक्त पार्टीले एक लाख सात हजार ३२ मत पाएको छ । समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत कटाए मात्रै सांसद पाउनेछ ।

निर्वाचन आयोगबाट गएको कात्तिकमा दल दर्ताको प्रमाणपत्र पाएको श्रम संस्कृति छोटो अवधिमा उदाएको छ ।