काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रियसभाका बहालवाला सांसद र नयाँ सांसदबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै उनले सभापति थापाको राजीनामा मागेका हुन् ।

विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे । उनले पार्टीको विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताए । थापाले कांग्रेसले जनताले दिएको म्यान्डेटलाई स्वीकार गर्दै अघि बढ्ने पनि बताए ।

उनले भने, “जनताले जुन म्यान्डेट दिएका छन्, त्यो स्वीकार्य छ । त्यही मान्डेटअनुसार हामीले राम्रो काम गर्दै जानुपर्छ । मेरो स्पष्ट भनाइ के हो भने, विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ ।”

उनले विशेष महाधिवेशनका नाममा एउटा भेला गरिएको र पार्टीलाई कब्जा गरिएको आरोपसमेत लगाए । “विशेष महाधिवेशनबाट सेटिङअनुसार पार्टी क्याप्चर भएको हो । यो कुरा मैले हिजो पनि भनेको हो, अहिले पनि भन्छु, भोलि पनि भन्छु । निर्वाचन आयोगमा सेटिङ अनुसार क्याप्चर भएको हो ।”

गगन थापालगायतका नेताले विशेष महाधिवेशनका नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरेको आरोपसमेत लगाए ।