काठमाडौं । पछिल्लो २४ घण्टामा देशका केही स्थानमा वर्षा भएको छ । यो अवधिमा सबैभन्दा बढी पानी संखुवासभामा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार (फागुन ३) बिहान साढे ९ बजेको मापनमा पछिल्लो २४ घण्टामा संखुवासभास्थित नुम मौसम केन्द्रमा ५३ मिलिमिटर वर्षा भएको देखिएको छ । यो अवधिमा देशका अरू स्थानमा परेको पानीभन्दा त्यहाँ सबैभन्दा बढी हो ।

त्यसपछि तनहुँको सखरमा ५१.२, चितवनको जुवानी केन्द्रमा ४६.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

प्रिमनसुन अवधि सुरु भएयता पछिल्ला दिनमा देशका विभिन्न स्थानमा वर्षा भएको छ । विशेष गरी गण्डकीदेखि कोसी प्रदेशका केही भूभागमा पानी परेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलस्थित न्यूनचापीय रेखाको आंशिक प्रभाव छ ।