काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावबीच अमेरिकाले इरानविरुद्ध आफ्नो सैन्य कारबाही अझ तीव्र पारेको छ ।

अमेरिकाले इरानी शासनविरुद्धको अमेरिकी ‘अपरेसन एपिक फ्युरी’मा सहभागी हुन बी–२ स्टेल्थ बमवर्षक विमान परिचालन गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डले शुक्रबार यस्तो घोषणा गरेको हो ।

यी विमानको लक्ष्य इरानसँगका खतरालाई समाप्त पार्नु र भविष्यमा उसको सैन्य क्षमतालाई पुनर्जीवित हुनबाट रोक्नु रहेको जनाइएको छ । यो कारबाही उक्त क्षेत्रको सुरक्षा र आफ्ना सहयोगीको रक्षाका निम्ति गरिएको अमेरिकाको भनाइ छ ।

सेन्ट्रल कमान्डका अनुसार, बी–२ विमानहरू आज इरानबाट हुने खतरा टार्न र भविष्यमा उनीहरूको पुनर्निर्माण गर्ने क्षमतालाई समाप्त पार्न लामो दूरीको प्रहारका निम्ति प्रयोग गरिनेछ ।

यो अभियानको उद्देश्य इरानी शासनसँग जोडिएका ती ठेगानालाई निसाना बनाउनु हो, जसलाई सम्भावित खतरा मानिएको छ । बी–२ स्टेल्थ विश्वकै सबैभन्दा आधुनिक बमवर्षक विमानमध्ये गनिन्छ । र, यो शत्रुको ‘राडार’बाट बचेर हमला गर्न सक्षम छ ।

अमेरिकाको नेतृत्वमा जारी ‘अपरेसन एपिक फ्युरी’ इरानसँग जोडिएको सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले सुरु गरिएको हो । अमेरिकी सैन्य अधिकारीका अनुसार, यो अभियानको लक्ष्य त्यस्ता ठेगानालाई नष्ट गर्नु हो, जसले क्षेत्रीय सुरक्षाका निम्ति तत्काल खतरा पैदा गर्न सक्छन् । यो अभियानमा विभिन्न प्रकारका सैन्य स्रोतको प्रयोग भइरहेको छ । र, लामो दूरीबाट हमला गरिँदै छ ।

एबीसी न्युजको शुक्रबारको रिपोर्टअनुसार, अमेरिकाले अतिरिक्त रूपमा ‘३१औँ मरिन एक्सपिडिसनरी युनिट’लाई मध्यपूर्वमा पठाएको छ, जसमा अमेरिकी नौसेनाका जल तथा स्थल दुवैमा चल्ने तीन ‘एम्फिबियस एसाल्ट’ जहाजमा सवार करिब दुई हजार २०० मरिन समावेश छन् ।

दुई अमेरिकी अधिकारीले एबीसीलाई बताएअनुसार, यो सैन्य टोलीमा एफ–३५ फाइटर जेटहरूको एक स्क्वाड्रन र एमभी–२२ ओस्प्रे टिल्ट्रोटर विमानहरू पनि छन् ।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, मध्यपूर्वतर्फ जाँदै गरेका जहाजहरूमा जापानमा आधारित यूएसएस त्रिपोली पनि समावेश छ ।