सुदूरपश्चिम सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा ६ महिनादेखि सम्पर्कमा छैनन् । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि उनी प्रदेशसभा सचिवालयको पनि सम्पर्कमा छैनन् ।

देउवानिकट कांग्रेस कैलालीका नेताहरूका अनुसार जेन–जी आन्दोलको चार दिनपछि उनी अमेरिका उडेका थिए । ‘११ माघमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनअघि नै नेपाल फर्किन्छु भन्नुभएको थियो,’ देउवानिकट एक नेताले भने, ‘तर, अझै फर्किनुभएको छैन । अब एक सातापछि आउँछु भन्नुभएको छ ।’

देउवा झण्डै ७ महिनादेखि प्रदेशसभा बैठकमा पनि उपस्थित छैनन् । सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को धारा १९३ मा लगातार १० बैठकमा बिनासूचना अनुपस्थित भए प्रदेशसभा पद नै रिक्त हुनसक्ने कानुनी प्रावधान छ । तर, प्रदेशसभा सचिवालयका अनुसार पछिल्लो ७ महिनायता सातवटा मात्रै प्रदेशसभा बैठक भएका छन् । जसका कारण देउवाको पद भने यथावत् छ ।

यद्यपि, सम्पर्कविहीनजस्तै रहेका देउवाको तलब सुविधा भने प्रदेशसभा सचिवालयले रोकेको छ । ‘उहाँ सम्पर्कविहीन भएको धेरै समय भइसकेको छ,’ प्रदेशसभा सचिवालयका एक कर्मचारीले भने, ‘अमेरिकामा हुनुहुन्छ भन्ने सुनेका छौँ । तर, उहाँले सभामुखलाई पनि केही जानकारी दिनुभएको छैन । सम्पर्कविहीन प्रदेशसभा सदस्यको तलब भुक्तानी गर्दा प्रश्न उठ्ने देखिएपछि हामीले रोक्का गरेका छौँ । उहाँ आउनुभयो भने एकैपटक तलब सुविधा भुक्तानी गर्न सकिन्छ ।’

देउवा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन् । २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा विजयी देउवा सुदूरपश्चिमको मुख्यमन्त्री चाहन्थे । तर, दल नेताहुँदै कमलबहादुर शाह मुख्यमन्त्री भएपछि देउवा भौतिक पूर्वाधार विकासमन्त्री भएका थिए । केन्द्रमा एमाले–कांग्रेसको सरकार बनेपछि देउवा दल नेताहुँदै मुख्यमन्त्री बन्ने चर्चा चल्यो । तर, संघीय सरकारमा उनकी काकी आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि दल नेता फेर्न देउवा दम्पती नै तयार नभएको चर्चा थियो ।

शाहको पहिलो कार्यकालमा मन्त्री रहेका देउवाको सम्बन्ध मुख्यमन्त्रीसँग नजिकको थियो । तर, दोस्रो कार्यकालमा भने देउवा र मुख्यमन्त्री शाहबीच टकराव बढ्दै गएको थियो । देउवा मुख्यमन्त्री शाहको कार्यशैली ठीक नभएको भन्दै अनौपचारिक रूपमा आपत्ति जनाउँदै आएका थिए । मुख्यमन्त्री शाह भने देउवाप्रति लक्षित गर्दै आफ्नैबाट असहयोग भइरहेको सार्वजनिक टिप्पणी गरिरहेका थिए । प्रदेशसभा सदस्य देउवाको आफ्नै काकाकाकीसँग पनि सम्बन्ध बिग्रिएको चर्चा सुदूरपश्चिममा छ ।